को को बन्दैछन् सचिव ?

428
  •  
  •  
  •  

Singadarbarकाठमाडौं, २ पुस (ओएनएस) : रिक्त रहेका सचिवको बढुवा प्रक्रिया अघि बढाएसँगै कोको पर्छन् भन्ने जिज्ञासा बढेको छ । सचिव बढुवा सिफारिस समितिले गृहकार्य प्रारम्भ गरेको छ । लोक सेवा आयोगकी अध्यक्ष कयोदेवी यमी अध्यक्ष रहने बढुवा समितिमा मुख्यसचिव, कानुनसचिव तथा सामान्य प्रशासन मन्त्रालयका सचिव छन् । स्रोतअनुसार, पाँच वर्षे पदावधि पुगेका र वरिष्ठतामा अगाडि रहेका सहसचिवहरुको क्रमशः फाइल अध्ययन भइरहेको छ । उनीहरूको कार्यसम्पादन मूल्यांकनको विवरण र नम्बर हेरेर प्रारम्भिक सूची तयार गरिनेछ ।

हाल विभिन्न मन्त्रालय तथा निकायमा १५ जना सचिव पद रिक्त छन् । तीमध्ये चारजना वरिष्ठताको आधारमा नियुक्त हुनेछन् । बाँकी १२ पदका लागि तेब्बर उम्मेदवार सिफारिस गर्नुपर्ने कानुनी प्रावधानअनुरूप ३६ सहसचिवको नाम तय गरिनेछ । वरिष्ठताको आधारमा सहसचिवहरु सुरेश आचार्य, गजेन्द्र ठाकुर र लक्ष्मण मण्डल पर्ने स्रोतको भनाइ छ । धेरै नै चलखेल भएन भने बाँकी १२ जनामा भने गत साउन ३० गते कायममुकायम (कामु) मुकरर गरिएका सहसचिवहरु बढुवामा पर्ने गृहकार्यमा संलग्न स्रोतको भनाइ छ ।

साउनमा सरकारले १० सहसचिवलाई कामु सचिव बनाएको थियो । टंकमणि शर्मा, शंकर कोइराला, खुमराज पुञ्जाली, सुनीलबहादुर मल्ल, प्रेमकुमार राई, ईश्वरीप्रसाद पौडेल, रमेशकुमार शर्मा, जीवनप्रभा लामा, अन्नपूर्णनन्द दास, दिनेशकुमार थपलिया र विजयकुमार मल्लिक हाल कामु सचिव छन् । लामा र दास प्राविधिक हुन् ।

सचिवमा को बढुवा हुन्छ भन्ने कुरा राजनीतिक प्रभाव बढी निर्णायक हुने भएकाले अहिले नै एकीन गर्न गाह्रो छ । तर, सिफारिसमा भने वरिष्ठताक्रमका आधारमा धेरै कानुन र प्राविधिक सेवाका पर्ने छन् । हाल प्राविधिकतर्फबाट कामु सचिव बनेकाहरूको कार्यसम्पादन नम्बर कम रहेको स्रोतको भनाइ छ ।

यसपटक अर्थ मन्त्रालयका सहसचिव राजन खनाल, मोहनकृष्ण सापकोटा र रक्षा मन्त्रालयका निमित्त सचिव देवेन्द्र सिटौला पनि सचिवको सूचीमा चढ्न सक्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक वरिष्ठ अधिकारीले जानकारी दिए । सिटौला वरिष्ठतामा अगाडि नभए पनि यसअघि कामु सचिवको जिम्मेवारी भने पाइसकेका छन् । तर, अहिले उनी कामुबाट निमित्त सचिवमा झरेका छन् ।


  •  
  •  
  •